Sunday, 29 June 2014

के तपाई अहिले केही खानेकुरा खाँदै हुनुहुन्छ ?


के तपाई अहिले केही खानेकुरा खाँदै हुनुहुन्छ ? त्यसो भए एकछिन् पर्खनु होस् । खानु अघि तपाईले साबुन पानीले हात मिचिमिचि धुनु भयो ? यदी हात नधोई खान लाग्नु भएको छ भने होसियार ।

तपाईको एक सानो लापरबाहीले पनि विभिन्न रोगले आक्रमण गर्न सक्छ । या भनौ भोली यही रोगले नै तपाई र तपाईको परिवारको अकालमै ज्यानै समेत जान सक्छ ।

सुन्दा सामान्य लाग्छ, हात धुने,,,,,,,, तर यही हातले नै विभिन्न रोगका किटाणुहरु हाम्रो शरीर भित्र पुर्याउने काम गरिरहेको हुन्छ । ८० प्रतिशत रोगहरु फोहोर हातले खाने कुरा खाँदा लाग्ने गर्छ । त्यसैले हात धुने पनि सही तरिका जान्नुपर्छ । हात धुने क्रममा साबुन पानीले करिब आधा मिनेट सम्म हातका औला बिच कापा–कापामा मिच्नुपर्ने चितवनका चिकित्सक मुरारी प्रसाद बराकोटी बताउनु हुन्छ ।

सही तरिकाले हात धुने बानी बसालेमा ४० प्रतिशत झाडापखाला र २३ प्रतिशत श्वासप्रश्वास सम्बन्धी हुने रोगहरुबाट बच्न सकिन्छ । यस्तै सुडेनीले हात धोएर प्रशव गराउँदा १९ प्रतिशत, सुत्केरी आमाले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशत रोग लाग्ने सम्भावना कम हुने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

यति मात्र नभई बालबालिकाको उचाई केही हदसम्म बढाउन पनि यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने एक अध्ययनले देखाएको छ । तर हात नधुनाले झाडापखाला, टाइफाइड, श्वासप्रश्वास सम्बन्धि विभिन्न रोगहरुले संक्रमण गर्ने अर्का चिकित्सक भोजराज अधिकारीले जानकारी दिनुभयो । अधिकारी भन्नु हुन्छ, पानी पनि सफा नै हुनुपर्छ है ।

त्यसैले खाना खानु र खुवाउनु अघि, चर्पीको प्रयोगपछि, बच्चाको दिसा धोइसके पछि लगायतका विभिन्न काम गरेपछि साबुन र सफा पानीले हात धुन चिकित्सक वरुण श्रेष्ठले सल्लाह दिनुहुन्छ ।

थाहा पनि नभएको होइन् तर पनि खै किन हो किन अझै पनि हाम्रो समाजका कतिपय मानिसहरुले यसलाई व्यवहारमा लागु गर्दैनन् । बेलचोकी एक जना दीदि हुनु हुन्छ, उहाँले घरको काम सक्नु भयो अनि मात्र पानीले हात धुनु भयो । अनि मैले प्रश्न गरे । दीदि साबुन पानीले किन हात नधुनु भएको ? मात्र पानी ? । अनि उहाँले भन्नुभयो अहिले पो साबुन रे, पहिले त यही पानीले मात्रै हात धुन्थ्यो नि ।

त्यसैले भन्दैमा सुन्छन्, सुन्दैमा बुझ्छन्, बुझ्दैमा गर्छन् र गर्दैमा पनि सही तरिकाले गर्छन् भन्ने छैन । किनभने भनाई र गराईमा धेरै फरक छ । यो भनाई मात्र सामान्य मानिसमा मात्र लागु हुँदैन हात धुनुपर्छ है भन्दै नारा लगाउनेहरु पनि जब खान बस्छन् । त्यसमा पनि केहीले मात्र साबुन पानीले हात धुने गर्छन् भने बाँकी सबैले पानीमा मात्र हात छुवाउछन् ।

त्यसैले पनि कुरा होइन, व्यवहारमा लागु गरौ, आजै देखि साबुन पानीले मिचिमिभि हात धुने बानी बसालौ ।

No comments:

Post a Comment